काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धुको जग्गाका विषयमा छानबिन गर्न छानबिन समिति बनाउन माग गरेका छन् । बिहीबार लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै शर्माले छानबिन समिति बनाउन माग राखेका हुन्।
शर्माले गिरीबन्धुको जग्गा हिनामिनाको निर्णय हुँदा २०५२ सालमा एमालेको सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको रहेको र २०७८ सालमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेको बताए । उनले भने, ‘यति प्रष्ट हुँदा पनि ओलीले कांग्रेसले जग्गा बेचेर खाएको आरोप लगाउनुभयो । यदि त्यस्तो हो भने छानबिन समिति बनाएर पुष्टि गरे हुन्छ ।’
‘केपी कमरेडले फेरि पनि भन्नुभयो कि, गिरीबन्धु प्रकरणमा कांग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो । त्यो केपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो,’ उनले भने ।
नभएको दोष कांग्रेसमाथि लगाउँदा आफूहरू चुप लागेर नसुन्ने शर्माले बताए ।