बाँके। हावाहुरीले घरमा क्षति पुर्याएका बाँकेको कोहलपुर नगरपालिका–१५ का ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ। बुधबार राति आएको हावाहुरीका कारण घरका छाना उडेर, पर्खाल भत्किएर क्षति भएका परिवारलाई त्रिपाल वितरण गरिएको हो।
कोहलपुर–१५ का वडाध्यक्ष दीपेन्द्रकुमार चौधरीले ८२ हजार ५०० रुपैयाँ बराबरको त्रिपाल वितरण गरेको जानकारी दिए।
उनले भत्किएका र छाना उडेका घरमा त्रिपाल तानेर बसोबास गर्न सहज होस् भन्ने उद्देश्यका साथ त्रिपाल वितरण गरिएको बताए।
असार ५ गते राति आएको हावाहुरीका कारण कोहलपुरमा मात्र १०० बढी घर भत्किएको, एउटा उद्योगको पर्खाल भत्किएर एक जना महिलाको मृत्यु भएको छ । नौ जना घाइते भएको कोहलपुर नगरपालिकाले जनाएको छ।