काठमाडौं। सहरी विकासमन्त्री धनबहादुर बुढाले सहरी विकास मन्त्रालयको बजेट सन्तुलित रहेको बताएका हुन्। आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री बुढाले प्रादेशिक रूपमा सहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भनाइमा सत्यता नरहेको बताएका हुन्।
संघीय संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख लगायतका विशेष प्रकृतिका भवन निर्माण गर्नु परेकाले अन्य प्रदेशभन्दा बागमती प्रदेशको बजेट मात्र केही बढी देखिएको उनको भनाइ छ।
मन्त्री बुढाले आफूले सबै जिल्लामा पुग्नेगरी बजेटको विनियोजन गरेको दाबी पनि गरेका छन् ।
सांसदहरूले मन्त्री बुढाले आफ्नो जिल्ला डोल्पामा ज्यादा बजेट लगेको भनेर आलोचना गरेका थिए । जवाफमा मन्त्री बुढाले समग्रतामा हेर्दा यस्तो देखिनु स्वाभाविक भएको बताए ।