काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज बिहान एसईईको नतिजा सार्वजनिक गरेको हो।
परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्।
५२.१४ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन्। यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो। लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ ।
अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।