काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ओपेक फन्डलाई नेपालमा विस्तारका लागि आग्रह गरेका छन् ।
अष्ट्रियाको भिएनामा मङ्गलवार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताएका हुन् ।
विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताएको महासङ्घले जनाएको छ। उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरे । ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत क्षेत्रहरुमा लगानीको ठूलो सम्भावना रहेको बताए ।