काठमाडौं। चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ। भरतपुर महानगरपालिकाले शुक्रबार हिमालयन कालिञ्चोक बीबीआर जेभीको नाममा सात दिने आसयपत्र जारी गरेको हो।
सात दिनभित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा उक्त कम्पनीसँग निर्माण सम्झौता हुने छ ।
६८ करोड २ लाख लागत रहेको रंगशाला निर्माण कार्य सम्झौता भएको दिनदेखि २६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।
तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाले जनाएको छ।