काठमाडौं। कास्कीमा बाढीपहिरोबाट एकै दिन ११ जनाको मृत्यु भएको छ । लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको हो।
बाढीपहिरोबाट अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतकहरुमा वर्ष ४७ का कुलबहादुर परियार, उनकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षकी लक्षिमा, छोरीहरू १५ वर्षकी प्रसना, २० वर्षकी प्रभा र वर्ष २५ का ज्वाइँ अस्मित परियार रहेका छन् । सो घटना देखेपछि ४६ वर्षीया राधिका परियारको हर्ट अट्याक भई मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी कास्कीकै मादी ११ तल्लो साप्लेमा हुमबहादुर गुरुङको घरमा पहिरो आउँदा ८० वर्षीय माइती गुरुङको मृत्यु भएको छ भने हुमबहादुर घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं ३० र ३२ को सिमानामा रहेको चैनपुरमा आरती ओझाको घरमा बाढी पस्दा छोरीहरू १८ वर्षकी अस्मिता, ११ वर्षकी अनुष्का र उनका भतिज ९ वर्षीय पुष्प सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।