काठमाडौं। नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय (विपी स्मृति) निर्माणका लागि बागलुङको बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले भुक्तानी दिएका छन्।
बडिगाड गाउँपालिकाले १५ लाख रुपैयाँ र काठेखोला गाउँपालिकाले १० लाख रुपैयाँ भुक्तानी दिएको हो।
आर्थिक वर्षको अन्तिम असार २४ गते सो रकम भुक्तानी दिएको बडिगाड गाउँपालिकाका लेखा अधिकृत लक्ष्मण कँडेलले जानकारी दिए । उनका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएर आएपछि नियमअनुसार करकट्टी गरी भुक्तनी दिइएको हो ।
पार्टी कार्यालयको भवन निर्माणका लागि रकम छुट्याउने काम गलत भएको भन्दै विभिन्न राजनीतिक दल तथा नागरिकहरुले विरोध गर्दै आइरहेका छन् । विरोधका बाबजुद पनि गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रकम भुक्तानी गर्दा नकरात्मक नजिर बसेको जानकार बताउँछन् ।