सिराहा। गोलबजार नगरपालिका–८ स्थित मैनावती नदीको पुलको बाँध बाढीले बगाएको छ। गत असार २६ गते आएको बाढीले पुलको दुवै तर्फको बाँध बगाएको हो।
गत फागुनबाट मात्र सञ्चालनमा आएको पुलको बाँध बाढीले बगाएपछि गोलबजार नगरपालिका–४ चोहर्वा र वडा ८ भाइजी टोलबीचको आवागमन बन्द भएको छ ।
पुलको निर्माण भने २०७५ सालमै भएको थियो । तर नगरपालिकाले ठूलो नदीको बीचमा ३० फिट मात्र लम्बाई र ७ फिट मात्र उचाइको पुल बनाएपछि दुवैतिर पानी बग्ने भएकाले पुल सञ्चालनमा आउन सकेको छैन।
नगरपालिकाले गत फागुनमा अधुरो तथा उपयोगविहीन पुलको दायाँ र बायाँ बाँध हालेर सञ्चालनमा ल्याएको थियो। उक्त बाँध पनि पाँच महिनामै सामान्य बाढीले बगाएको छ।