काठमाडौं। विपतमा बेपत्ता भई १० दिनसम्म नभेटिए मृतकसरह उसका परिवारलाई राहत उपलब्ध गराइने भएको छ। सोमबार बसेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विपदका कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृत घोषणा गरी मृतक सरह परिवारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो।
सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले भने, ‘विपतमा बेपत्ता भई १० दिनसम्म पनि फेला नभएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको छ ।’ यसअघि बेपत्ता भएकालाई यस्तो कुनै व्यवस्था नगरिएको उनले बताए ।
यस्तै बैठकले त्रिशूलीमा पहिरो गई गाडी बेपत्ता भएका मृतकका परिवारलाई राहत दिने पनि निर्णय गरेको छ। २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउने निर्णय भएको छ भने कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण तीन सय दिनभित्र फिट गर्ने निर्णय भएको छ।