काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का
र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ। बुधबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्री खड्का र श्रीवास्तववीच भेटवार्ता भएको हो।
भेटमा ऊर्जामन्त्री खड्काले सुख्खा महिनामा भारतबाट प्राप्त विद्युतले यहाँको विद्युत् अभाव कम गर्न सघाउ पुर्याएकामा राजदूतलाई धन्यवाद दिए।
वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुऱ्याएको समेत मन्त्री खड्काले बताए। उनले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने सम्झौतालाई सफल कार्यान्वयन गर्न नीतिगत पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
राजदूत श्रीवास्तवले हरित हाइड्रोजन उत्पादन, विद्युत व्यापार, प्रसारण लाइनको विस्तारका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।