काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विकासका लागि सरकार र निर्माण व्यवसायीहरू सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले मुलुकको विकासका लागि सरकार र निर्माण व्यवसायीहरू सहकार्य गर्दै अघि बढ्नु पर्ने बताएका हुन्।
भेटमा अर्थमन्त्री पौडेलले भुक्तानीको समस्या तत्काल सम्बोधन गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले आज माननीय उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग अलग अलग भेटी निर्माण उद्योगमा रहेको भुक्तानी लगायतका विविध समस्या बारे अवगत गराएको छ ।

भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले कानून संशोधन गरेर भएपनि निर्माण उद्योगमा देखिएको लो बिडिङको समस्या हल गरिने जानकारी दिए। महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेको छ ।