काठमाडौं। सभामुख देवराज घिमिरेले सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनको काम छिटो सक्न निर्देशन दिएका छन्।
सभामुख घिमिरेले शुक्रबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास तथा भवन विभागका महानिर्देशक कुमारप्रसाद घिमिरे, संसद् भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनसँग भवन निर्माणका विषयमा छलफल गरेका हुन्।
उनले संसद् भवन निर्माण ढिलो हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै काम चाडो सक्नुपर्ने बताएका हुन्। उनले कामको प्रगति सन्तोषजनक नभएको भन्दै भने, ‘अहिलेकै गतिमा निर्धारित समयभित्र संसद् भवनको निर्माण सम्भव देखिँदैन । छिटो काम सम्पन्न गर्न दुई ‘सिफ्ट’ मा काम गर्ने भनिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । दुई ‘सिफ्ट’ त गफै मात्र भयो । एक ‘सिफ्ट’ मा पनि चाहिने जनशक्ति प्रयोग भएको देखिँदैन ।”
उनले अबको एक महिनामा संसद् भवन निर्माण प्रगतिबारे पुनः समीक्षा बैठक गर्ने समेत बताए। सभामुख घिमिरेले थप गरिएको म्यादभित्र काम सक्नुपर्ने समेत बताए।