काठमाडौं। बागमती प्रदेशमा भएका रुग्ण आयोजनाहरुको अध्ययन गरिने भएको छ। बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै रुग्ण आयोजनाहरूको अध्ययन गर्ने निर्णय गरेका हुन्।
मन्त्रालय अन्तर्गत आयोजना निर्देशनालय तथा कार्यालय मार्फत सञ्चालन भएका आयोजनाहरू तोकिएबमोजिम समयावधिमा सम्पन्न नभई अपेक्षित प्रतिफल प्राप्त गर्न ढिलाइ भइरहेको सन्दर्भमा अध्ययन गर्ने मन्त्री मास्केको भनाइ छ।
यसका लागि यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक पुष्कर प्रसाद पोखरेलको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।
उनले आयोजना रुग्ण हुनुको वास्तविक कारण तथा व्यवस्थापनका लागि सुझाव सहित १५ दिन भित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेका हुन्।
रुग्ण आयोजनाहरूको पहिचान गरी, कार्यान्वयनमा भएका ढिलासुस्तीको वास्तविक कारण पहिल्याई, यथोचित कारबाही अगाडि बढाउने उनले बताए ।