फाइल तस्बिर
काठमाडौं। प्रदेश सांसद्हरुको टोलीले लहान २३ तिलेबोना गाउँ नजिकै बाढीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका छन्।
मधेश प्रदेश सभा प्राकृतिक स्रोत तथा वातावरण संरक्षण समिति र विकास समितिसहित पाँच जना प्रदेश सांसद्हरुको टोलीले बिहीबार जोखिमयुक्त क्षेत्रको निरीक्षणसहित पीडितहरुसँग अन्तरक्रिया समेत गरेका हुन्।
अन्तर्क्रियामा विकास समितिका सदस्य राजेन्द्र प्रसाद चौधरीले प्रदेश सरकारले दीर्घकालीन सोचसहित बहुवर्षीय योजनाअन्तर्गत कटान क्षेत्रको नियन्त्रण नगरिए ठूलो क्षति हुन सक्ने बताए।
आर्थिक वर्ष २०८०/०८१ मा १९ अर्ब रकम खर्च गर्न नसकी फ्रिज हुँदा स्थानीय किसानले भने बजेट नपुगेर ५० मिटर तटबन्ध निर्माण गर्न नसकेर ठूलो क्षति भोग्नु परेको उनको भनाइ छ।
प्राकृतिक स्रोत तथा वातावरण संरक्षण समितिका सदस्यहरु मनोज सिंह, संंजिला यादव तथा ममता मण्डलले आफूहरुले स्थलगत निरीक्षणमा देखेको, स्थानीय किसानले उठाएका समस्याहरु लिपीबद्ध गरी प्रतिवेदनको रुपमा समितिमा छलफल गरी सभापतिमार्फत् प्रदेशसभा, सम्बन्धित मन्त्रालयमा बुझाइने र सुनुवाई नभए सदनमा कुरा उठाउने प्रतिबद्धता जनाए ।