ललितपुर। ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गरिने भएको छ। धाम निर्माणका लागि ललितपुर महानगरपालिकाले आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म श्रीमद्भागवत् ज्ञान महायज्ञ गर्ने भएको हो।
यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसारका साथै आर्थिक सङ्कलनका लागि महायज्ञ गर्न लागेको महानगरले जनाएको छ। महायज्ञ सम्पन्न भएपछि मात्रै निर्माण सुरु हुनेगरी तालिका सार्वजनिक गर्ने समेत महानगरको तयारी छ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले धाम पुनः निर्माणका लागि खर्च अभाव नहुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। साथै उनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने समेत बताएका छन्।
भृङ्गारेश्वर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण हुन सकेको थिएन । उक्त मन्दिरलाई पुरानै शैलीमा निर्माण गर्न महानगरको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रिया अघि बढेको छ ।