काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज देशभरका कार्यालयहरुमा वृक्षरोपण गरेको छ। प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा आज प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्र उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादन गृहहरूमा वृक्षरोपण गरेको हो।
प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन्।
जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले विरुवा रोपेको बताइएको छ।
प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो।