काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न भइसकेका कामको निर्माण व्यवसायीले पैसा नपाउने तरिका ठिक नभएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार मन्त्री तथा सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री ओलीले बनिसकेको कामको रकम निकासा रोकिन नहुने बताएका हुन्।
उनले भने, ‘निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिका हुनु हुँदैन। को सँग के हिसाब नमिलेर वा के भएर हो बनिसकेको कामको रकम निकासा रोकिनु हुँदैन।’
प्रधानमन्त्री ओलीले सचिवहरुलाई नयाँ काम भन्दा पनि हाल थालिएका काम सम्पन्न गर्ने गरी लाग्न समेत निर्देशन दिए। उनले इन्धन आयातका लागि खर्चने अर्बौँ रकम बचाउने योजनामा जानुपर्ने भन्दै जलविद्युतको विकास र उपयोगमा ध्यान दिन समेत निर्देशन दिए।
त्यसैगरी उनले धरहरा चाँडो सञ्चालनमा ल्याउन समेत भनेका छन्। उनले भनेका छन्, ‘धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन। पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनर्निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु।’