काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्माण व्यवसायीको भुक्तानिको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्।
बिहीबार नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले निर्माण व्यवसायीको रकम भुक्तान नभएको विषयलाई गम्भीर रूपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताएका हुन्।
उनले मौद्रिक नीति पनि निर्माण व्यवसायीमैत्री रूपमा आएको बताउँदै निर्माण व्यवसायीसँग निरन्तर संवादमा रही यस क्षेत्रमा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
महासङ्घले मन्त्री भण्डारी समक्ष निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन माग गरेको छ ।
महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारीसमक्ष नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्नेलगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।