धनगढी। सुदूरपश्चिम प्रदेशमा बजेट अभावले जनता आवास कार्यक्रम प्रभावित बनेको छ। बजेट नहुँदा कार्यक्रम अन्तर्गत थप घर निर्माणमा समस्या भएको हो।
कैलाली र कञ्चनपुरमा छनौट भएका ४३७ घर निर्माणको चरणमा छन्। सहरी विकास तथा भवन निर्माण कार्यालयले प्रतिघर तीन लाख ३६ हजार रुपैयाँका दरले सम्बन्धित घरधनीलाई बजेट भुुक्तानी गर्नुपर्नेमा हालसम्म पहिलो किस्ताबापतको ९० हजार रुपैयाँ वितरण भएको छ। दोस्रो र तेस्रो किस्ता भने कामका आधारमा भुुक्तानी दिइने बताइएको छ।
आर्थिक वर्ष २०७५/७६ मै छनौट भएर निर्माण गरिनुपर्ने चार सय ३७ घर कोरोना महामारीका कारण तीन वर्षदेखि निर्माणकै चरणमा रहेका हुन्।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा जनता आवास कार्यक्रमका लागि भन्दै १० करोड ८१ लाख रुपैयाँ बजेट पठाएको छ। मन्त्रालयबाट कैलालीका लागि पाँच करोड ७६ लाख र कञ्चनपुरका लागि पाँच करोड पाँच लाख बजेट आएको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ
अहिले मन्त्रालयले पठाएको बजेट के–कति खर्च हुन्छ भन्ने यकिन नभएकाले थप बजेट माग गरिएको छैन। खर्च यकिन गरेर थप आवश्यक पर्ने बजेट माग गरिने त्यसपछि घरधुरी छनौटको प्रक्रिया पनि अघि बढाउने कार्यालयले जनाएको छ।