काठमाडौं। चुरियामाई सुरुङ मार्ग पुनर्निर्माण भएको पाँच महिना बितिसक्दा पनि सञ्चालनमा आएको छैन। पुनर्निर्माणपछि प्रदेश सरकारले उपमहानगरपालिकालाई हस्तान्तरण नगरेकाले उक्त सुरुङ मार्ग पुनर्निर्माणको महिनौ बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो।
दक्षिण एसियामै पहिलो मानिने सुरुङ तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा निर्माण गरिएको थियो। सुरुङको बीच भाग भासिएर जोखिम बढेपछि पुनर्निर्माण गरिएको थियो।
ऐतिहासिक महत्त्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। तर पुनर्निर्माण भएको पाँच महिनासम्म पनि सञ्चालनमा भने आउन सकेको छैन।