काठमाडौं। वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले निर्माण व्यवसायीहरूको समस्या बारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
वागमती प्रदेश निर्माण व्यवसायी महासंघले सोमबार राजधानीमा गरेको बधाइ एवं शुभकामना कार्यक्रममा मुख्यमन्त्री लामाले निर्माण व्यवसायीहरूको समस्यालाई विगतका सरकारले गम्भीर रुपमा नलिएको बताए।
विगतमा आफू प्रदेशको अर्थमन्त्री हुँदा व्यवसायीहरूको कुनै पनि भुक्तानी नरोकिएको स्मरण गराउँदै मुख्यमन्त्री लामाले व्यवसायीलाई भुक्तानी नदिने तर योेजनाहरू मात्र थप्ने परिपाटी घातक भएको बताए। विकास समितिमा रहँदा पनि निर्माण व्यवसायीहरूको हक हितका लागि काम गरेको मुख्यमन्त्री लामाको भनाइ छ।
‘निर्माण व्यवसायीहरूको समस्या नबुभी उनीहरूलाई एकोहोरो गाली गर्ने प्रवृत्ति विलकुल ठीक होइन’ मुख्य मन्त्री लामाले भने। कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष बालकृष्ण थापाले निर्माण व्यवसाय चलायमान नहुने हो भने आर्थिक समृद्धि हुन नसक्ने बताए। कार्यक्रमका सभापति एवं वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष सुवित श्रेष्ठले निर्माण व्यवसायीहरूको मर्का बुझेकाहरू राज्य सत्तामा रहँदा निर्माण उद्योगको विकास हुनेमा आशावादी रहेको बताए।
काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष कृष्ण गौतमले निर्माण उद्योगमा भुक्तानीको समस्या सबैभन्दा विकराल रहेको बताए। वागमती प्रदेश निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष राजाराम न्हिसुतुले अब चाँडै निर्माण व्यवसायीहरूको सबै समस्या समाधान हुने विश्वास व्यक्त गरे । वागमती प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव राजकुमार बुढाथोकीले निर्माण व्यवसाय मैत्री ऐन कानून अपरिहार्य भएको बताए। सोही अवसरमा वागमती प्रदेश निर्माण व्यवसायी महासंघले मुख्यमन्त्री लामालाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको थियो ।