बुटवल। अर्थ मन्त्रालयले बजेट निकासा नगरेपछि लुम्बिनी प्रदेशसभाको निर्माणाधीन भवनको काम रोकिएको छ। दाङ देउखुरीस्थित राप्ती गाउँपालिका-३ को राप्ती प्राविधिक शिक्षालय हाताभित्र निर्माण भइरहेको भवनको काम निर्माण कम्पनीले तीन दिनदेखि रोकेको हो।
प्रदेशसभाको हिउँदै अधिवेशन नयाँ भवनमा गर्ने गरी भवन निर्माण सम्पन्न गर्ने भनिए पनि एकाएक काम रोकिएपछि निर्माणअवधि फेरि लम्बिने भएको छ। हाल प्रदेशसभाको अधिवेशन बुटवलमा भाडाको घरमा सञ्चालन भइरहेको छ। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले अर्थले बजेट नदिँदा काम रोकिएको जानकारी दिए।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेका अनुसार हालसम्म भवनको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ। प्रदेशसभाको हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी निर्माण कम्पनीले दिन र रात गरी दुई सिफ्टमा काम गरिरहेको थियो।
प्रदेशसभाको भवन निर्माणका लागि गत २४ वैशाखमा ठेक्का सम्झौता गरी निर्माण कार्यको सुरुवात गरिएको थियो। ठेक्का सम्झौतामा २०७८ साउन मसान्तभित्रै भवन निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। तर, सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनी परिवर्तन गरी अर्कोलाई ठेक्का दिइएको हो।
सुरुमा भवन निर्माणका लागि ड्रागन जेभी बस्नेतलाई ठेक्का दिइएकोमा सम्झौता अनुसार काम नभएपछि अर्का निर्माण व्यवसायी यज्ञ केसीलाई निर्माणको जिम्मा दिइएको छ।