काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारत, बंगलादेश र म्यानमारसँग जोड्न सकिने बताएका छन्।
भारतको नयाँदिल्लीमा जारी बिमस्टेक बिजनेस समिट २०२४ मा ‘इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एन्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक सत्रमा अध्यक्ष ढकालले नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारतसँगै बंगलादेश जोडेर कालादान आयोजनामार्फत म्यानमारलाई पनि समेट्दै क्षेत्रीय सञ्जालका लागि उपयोग गर्न सकिने बताएका हुन्।
अध्यक्ष ढकालले पूर्व–पश्चिम राजमार्गको समानान्तर रेलमार्ग निर्माण गर्न सकिने समेत बताए। यस क्षेत्रभित्रको भन्सार प्रक्रियालाई सरल बनाउन सीमावर्ती पूर्वाधार, एकीकृत जाँच चौकीलगायतको विकास गर्नुपर्ने उनको भनाइ छ।
ढकालले सदस्य राष्ट्रहरूलाई व्यापार सहजीकरण प्रवर्द्धन गर्न र सीमापार सम्बन्धको राम्रो विकास गर्न आवश्यक पूर्वाधारको विकास गर्नका लागि स्रोतसाधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोषको समेत आवश्यक रहेको बताएका छन्।