काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। अध्यक्ष नेपालले बुधबार भएको हेलिकप्टर दुर्घटनाका मृतकप्रति श्रद्धान्जली व्यक्त गरेको विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन्।
अध्यक्ष नेपालले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन, दुर्घटनाको जोखिम कम गर्न तथा देशको आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई गम्भीर हुन समेत आग्रह गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, ‘देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ, तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेको सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्।’