खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चदोबाटोमा यलम्बरको सालिक निर्माणको काम पुन सुरु गरिएको छ। ‘स्ट्रक्चर डिजाइन’ उपलब्ध नगराएको भन्दै निर्माण कम्पनीले अलपत्र छोडेको निर्माण कार्य पुन सुरु गरेको हो।
सालिक निर्माणको काम २०७९ माघ मसान्तसम्म सक्ने गरी २०७९ असार २८ मा उमा–तुवाचुङ–अन्सुली जेभीसँग ११ करोड ५८ लाखमा सम्झौता भएको थियो। कोशी प्रदेश सरकारको ७० र स्थानीय तहको ३० प्रतिशत लगानी रहने गरी निर्माण सुरु गरिएको थियो।
दुई पटक म्याद थप गरेर पछिल्लो पटक २०८१ असोजसम्मको समय तोकिएको थियो। नगरपालिकाले स्ट्रक्चर डिजाइन नदिएकाले काम अगाडी बढ्न नसकेको निर्माण कम्पनीले जनाएको छ। गत असार अन्तिममा स्ट्रक्चर डिजाइन प्राप्त भएकाले अब भने काम सुरु भएको हो।