काठमाडौं। वाग्मती प्रदेश प्रहरी कार्यालय भवनको बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन गरेका छन्। बुधबार हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा मुख्यमन्त्री लामाले भवनको उद्घाटन गरेका हुन्।
भवन उद्घाटन गर्दै मुख्यमन्त्री लामाले मुलुकमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने मुख्य दायित्व रहेको प्रहरी संगठनलाई सक्षम र सबल बनाउन सकेमा समाजमा आपराधिक घटना पनि न्यून हुने विश्वास व्यक्त गरे।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले नेपाल सरकारले लागू गरेको भवन निर्माणसम्बन्धी आचासंहितालाई पालना गरी भूकम्पीय जोखिमलाई न्यूनीकरण हुने गरी भवन निर्माण गरेको जानकारी दिए।
प्रदेश सरकारको २० करोड ५१ लाखको लागतमा भवन निर्माण गरिएको हो। पार्किङसहितको साढे ५ तले भवनमा १ सय ३२ कोठा छन्।