काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयनमा कुनै मन्त्रालयले ढिलासुस्ती गर्न नमिल्ने बताएका छन्।
पुँजीगत खर्च बढाउने सम्बन्धमा अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा मन्त्री शर्माले पुष महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयलाई निर्देशन दिएका हुन्।
उनले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको भन्दै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न ताकेता गरेका छन्।
मन्त्री शर्माले भने, ‘बजेट कार्यान्वयनमा कुनै मन्त्रालयले ढिलासुस्ती गर्न मिल्दैन। अर्थ मन्त्रालयले पनि गर्ने छैन। आफ्नो मन्त्रालयका निम्ति विनियोजन भएको बजेटको ३० प्रतिशत यो महिनाभित्र खर्च भएको हुनुपर्छ।’
उनले समयमै पुँजीगत खर्च गर्न अर्थ मन्त्रालयका तर्फबाट समन्वयलगायत हुनुुपर्ने सम्पूर्ण काम समयमै गर्ने प्रतिबद्धता समेत जनाए।
बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको भेटिए रकमान्तर गरिने चेतावनी दिँदै उनले आर्थिक वर्षको अन्तिममा बजेट निकास गर्ने परिपाटी अन्त्य गर्ने दृढता व्यक्त गरे। समयमै खर्च नहुने स्थिति उत्पन्न भए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने उनले बताए।