काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका निर्माण कार्यमा दर्ता नभएका उपभोक्ता समितिलाई पनि काम गर्न दिन सूचना जारी गरेको छ।
यसअघि दर्ता भएका समितिबाट मात्र काम गराउन गरेको परिपत्र उल्ट्याउँदै मन्त्रालयले उपभोक्ता समितिमार्फत कार्यसम्पादन नियमित राख्न निर्देशन दिएको हो।
मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उपभोक्ता समिति परिचालन सम्बन्धमा उपयुक्त व्यवस्था सहितको सुझाव प्रतिवेदन तयार गरी पेश गर्न मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन भएको उल्लेख गरिएको छ।
उक्त कार्यदलले आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरी मन्त्रालयबाट अन्य व्यवस्था नभएसम्मको लागि सबै स्थानीय तहले प्रचलित कानुन बमोजिम उपभोक्ता समितिमार्फत कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।
यस अघिको मन्त्रालयको परिपत्रपछि स्थानीय तहहरु त्यसको विरुद्धमा उत्रिएका थिए। गाउँपालिका महासंघ र नगरपालिका महासंघले विज्ञप्ति जारी गरेर परिपत्रको निर्देशन उल्ट्याएर उपभोक्ता समितिमार्फत काम गर्न दिन माग गरेका थिए।
.jpg)