काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश रङ्गशालाको अनुगमन गरेका छन्। आज सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले रंगशालाको अनुगमन गरेका हुन्।
कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वखेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याललगायत पदाधिकारीको उपस्थितिमा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा अध्यक्ष प्रचण्डले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
रङ्गशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए। रङ्गशालामा विभिन्न राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने अध्यक्ष दाहालको भनाइ छ।