काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा प्रतिफल दिने आयोजनामा लगानी गर्ने रणनीति रहेको बताएका छन्। नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँगको छलफलमा अर्थमन्त्री पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका हुन्।
उनले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने बताए।
आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत् र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पूँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने सुझाव दिए।