बर्दिया। बर्दियाको बाँसगढी नगरपालिकाभित्रका विद्यालयमा विद्यार्थीबाट चर्को अतिरिक्त रकम उठाएको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन्।
मंगलबार अखिल (क्रान्तिकारी) बर्दियाले अतिरिक्त रकम उठाउने निर्णय फिर्ता लिन नगरपालिकाभित्रका १३ वटा विद्यालयबाट विद्यार्थीको हस्ताक्षर संकलन गरेर पालिकामा बुझाएको हो।
अखिल (क्रान्तिकारी)ले अतिरिक्त कक्षा सञ्चालनको नाममा विद्यार्थीबाट रकम उठाउने निर्णय ७२ घण्टाभित्र फिर्ता लिन दबाब दिएको छ।
विज्ञप्तिमा नेपालको संविधान र जनताको भावना एवं क्षमता विपरित नगरका जनतामाथि मनपरी चर्को आर्थिक भार थोपर्ने निर्णय गरेर नगरपालिकाका मेयर र कर्मचारीहरु नवसामान्ती भएको समेत उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयमार्फत मनोमानी ढंगले शुल्क उठाउने जस्तो घृणित र जनविरोधी निर्णय ७२ घण्टाभित्र फिर्ता लिइयोस्, मनोमानी ढंगले उठाइएका सबै शुल्क खारेज गरियोस् एवं सरकारी विद्यालयमा विद्यार्थीलाई निःशुल्क अध्ययन गर्न पाउने अवस्था सिर्जना गरियोस्। हेक्का रहोस्, यो हाम्रो संगठनको मात्रै माग होइन, आम विद्यार्थीहरुको माग हो। यस पालकिाकाका १४ मध्ये १३ वटा सरकारी विद्यालयका कक्षा १० मा अध्ययनरत सबै विद्यार्थीहरुले उक्त मागमा हस्ताक्षर मार्फत ऐक्यबद्धता जनाएका छन्।’