काठमाडौं। सुदूरपश्चिम प्रहरी गण कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ। गृहमन्त्री रमेश लेखकले आज भवनको उद्घाटन गरेका हुन्।
भवन उद्घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरीको नयाँ भवन निर्माणले सेवा प्रवाह थप राम्रो हुने विश्वास व्यक्त गरे। उनले प्रहरी संगठनलाई थप व्यवस्थित गर्न छिट्टै नेपाल प्रहरीसम्बन्धी नयाँ ऐन बनाउने समेत बताए।
उनले मुलुकमा शान्ति, सुरक्षा सुनिश्चित गर्नमा प्रहरीले अग्रणी भूमिका निर्वाह गरिरहेको भन्दै आफ्नो कार्यकालको एकसय दिनभित्र नेपाल प्रहरीको नयाँ ऐन बनाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले नयाँ भवन निर्माणले नेपाल प्रहरीको कार्य सम्पादनमा थप उर्जा मिल्ने बताए।