काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले तोड्नुपर्ने ठेक्का तोड्न नसकेको तर नतोड्नुपर्ने ठेक्का तोड्ने काम भइरहेको बताएका छन्। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार मन्त्रालयसँग सम्बन्धित विषयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘अहिले तोड्नपर्ने ठेक्का तोड्न सकिएको छैन। नतोड्नुपर्ने ठेक्का तोडिएको छ । हामीले हुनुपर्ने कामलाई अनावश्यकरुपमा अल्झाउन दिनु हुँदैन।’
प्रधानमन्त्री ओलीले समय थपेर पनि हुनै नसक्ने काम वा ठेकेदार छ भने जो सुकै भए पनि ठेक्का तोड्नतिर लाग्नुपर्ने बताए।
उनले रेलवे विकास आयोजनामा सडकको अधिकार क्षेत्र यकिन गरी दिनुपर्ने मुअब्जा दिन र पानीजहाजका कामलाई अगाडि बढाउन आग्रह गर्दै पानीजहाजलाई सीमापार सञ्चालनका लागि छिमेकी मुलुकले आवश्यक ठाउँ दिनुपर्ने समेत बताए।
त्यसैगरी प्रधानमन्त्री ओलीले सवारी साधनको इम्बोष्ट नम्बर प्लेट उत्पादन र जडानका लागि भएको सम्झौतापछिका कार्यप्रगतिबारे अध्ययन गर्नुपर्ने अवस्था आएको समेत बताए।