काठमाडौं। नेपाललाई जर्मनीले ५१ मिलियन युरो (करिब ७ अर्ब ६१ करोड रुपैयाँ) अनुदान दिने सहमति भएको छ। नेपाल सरकार र जर्मनी सरकारबीच विकास सहायता सम्बन्धी जर्मनीमा भएको द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो।
उक्त सहायता रकम नेपालमा हरित एवम् नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवम् स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो ।
वार्तामा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्ती भए पश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्त्वपूर्ण हुने भएकोले जर्मनी सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ।
जर्मनी सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।