काठमाडौं। काठमाडौं महानगरपालिकाले अहिलेसम्ममा ६ वटा वडा कार्यालय भवन पुनःनिर्माण सम्पन्न गरेको छ। पुनःनिर्माण सम्पन्न हुनेमा भूकम्पले क्षति भएका र केही यसअघि जीर्ण अवस्थामा रहेका वडा कार्यालय रहेको कामपाले जानकारी दिएको छ। हालसम्म निर्माण कार्यसम्पन्न भएका वडा भवनमा ३, ४, ९, १४, १८ र २६ रहेको जनाइएको छ।
यसैगरी अहिले २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ वडामा भवन पुनःनिर्माणको चरण रहेका छन्। त्यसैगरी वडा ५, ६, ७, १०, ११, १५, २३ र ३२ का वडा कार्यलय भवन स्तरोन्नति गरिएको छ। पछिल्लो समय निर्माण सम्पन्न गरिएका र निर्माणाधीन अवस्थामा रहेका भवन सबै नेपाली वास्तुकला झल्कने किसिमका रहेका छन्। काठमाडौं महानगर्पालिका कै समन्वयमा काष्ठमण्डप र कमल पोखरीको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। हाल विश्वसम्पदा सूचीमा सूचीकृत रहेको हनुमानढोका दरबार क्षेत्रमा रहेका भूकम्पका कारण क्षति भएकामध्ये २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको जनाइएको छ।