सप्तरी। भष्टाचार गरेको आरोपमा सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिरहुत गाउँपालिकामा पर्यटन क्षेत्र प्रवेशद्वार र अन्य भौतिक संरचना निर्माणमा अनियमितता गरेको आरोपमा १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
गाउँपालिकाका तत्कालीन उपप्रमुख तीर्थमाया खत्वे र प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित १२ जना विरुद्ध ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय एवं हिनामिना भएको रकम असुल उपरको मागदाबीसहित मुद्दा दायर गरिएको छ।
गाउँपालिकाको बजेटबाट निर्माण वडा नम्बर ५ मा निर्माण गर्ने भनिएको पर्यटन क्षेत्र प्रवेशद्वारसहितका संरचना निर्माण अलपत्र भएपछि अख्तियारमा उजुरी परेको थियो। त्यसपछि अनुसन्धान हुँदा आव २०७५/७६ मै निर्माण गर्ने भनिएको काम तोकिएअनुसार नगरी हुँदै नभएको कामलाई बढी देखाएर बजेट अनियमितता गरेको भेटिएको अख्तियारले जनाएको छ।