काठमाडौं। आजदेखि काठमाडौंमा नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ। नेपाल उद्योग परिसंघले हरेक वर्ष फ्ल्यागशीप इभेन्टका रुपमा आयोजना गर्दै आएको नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको हो।
सम्मेलनमा सरकारले लिनुपर्ने नीति, पूर्वाधार फाइनान्सिङका नवीन अवधारणा तथा सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकासका विषय समेटिएका छन्।
सम्मेलनको पहिलो दिन सहभागीले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आबद्धतामा जोड दिएका छन् । सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दक्षिण एसिया क्षेत्रमा यातायात क्षेत्रको विकासमार्फत अन्तरआबद्धता वृद्धि गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए। उड्डयन, रेलमार्ग, सडक तथा पानीजहाजको विकासमार्फत आबद्धता वृद्धि गर्ने जानकारी समेत गराए।
क्षेत्रीय पूर्वाधार र त्यसको एकीकरण (इन्टिग्रेसन) शत्रका मुख्य वक्ता भारतका लागि नेपालका पूर्वराजदूत तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले न्यून लागत र उच्च प्रतिफल प्राप्त गर्नको लागि रेल यातायात, पानीजहाज, एकीकृत जाँचचौकी र डिजिटल आबद्धतालाई उच्च प्राथमिकता दिनुपर्ने बताए।
मलेसियाको एयर एसिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत बो लिंगमले एयर एसिया एसियाकै चौथो ठूलो एयरलायन्स कम्पनी भएको र यसले नेपालमा पनि सेवा सुरु गर्ने क्रममा रहेको जानकारी दिए।
सम्मेलन आज र भोलि चल्नेछ।