रसुवा। रसुवागढी सुक्खा बन्दरगाहको काम हालसम्म आधा भन्दाबढी सम्पन्न भएको छ। चीन सरकारको सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम हालसम्म ६० प्रतिशत पूरा भएको हो।
नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा निर्माण भइरहेको बन्दरगाहभित्र गोदाम, पार्किङ स्थल, वेयर हाउस, सडक पहुँच, रिटर्निङवाल लगाउने काम पूरा भइसकेको समितिले जनाएको छ।
बन्दरगाहभित्र पाँच तलाको प्रशासनिक भवन निर्माण भइरहेको छ। त्यसैगरी बन्दरगाहभित्र ७४० स्क्वायर फिटको पार्किङ स्थल निर्माण गरिएको छ । जसमा तीन सय वटा ट्रक पार्किङ गर्न सक्ने व्यवस्था रहेको समितिले जनाएको छ । सन् २०२५ जुलाईसम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने गरी सन् २०२० नोभेम्बरबाट निर्माणको काम सुरु भएको थियो।