कैलाली। धनगढी उपमहानगरपालिकाले नगर बस सेवाको सञ्चालनमा ल्याएको छ। नगरपालिकाले दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेर आइतबारदेखि सञ्चालनमा ल्याएको हो।
आइतबार फुलबारी बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरेर नगर उपप्रमुख कन्दकला रानाले हरियो रंगको झन्डा देखाएर नगर बस सेवाको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फुलबारी सहितका ग्रामीण बस्तीबाट सहज र सुलभ यातायात सेवा सञ्चालन नहुँदा आम नागरिकले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै नगर बस सेवा सञ्चालनमा ल्याइएको बताए।
उपमहानगरपालिकासँग भएको स्रोत, साधन र क्षमता अनुसार नगरवासीका विभिन्न अभाव पूर्ति गर्ने प्रयास गरिने उनको भनाइ छ।