काठमाडौं। काठमाडौं उपत्यकाको नदी किनारको मापदण्डबारे सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध नदी किनारका बासिन्दाको हकका लागि बनेका संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउनु पर्ने सर्वोच्चको फैसला विरुद्ध सोमबार प्रदर्शन भएको हो।
सोमबार नदी करिडोर क्षेत्रका बासिन्दाको हक अधिकारका लागि कार्यरत विभिन्न ९ वटा संगठनहरूले संयुक्तरुपमा कुपण्डोलदेखि थापाथली हुँदै त्रिपुरेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले सर्वोच्च अदालतले गरेको फैसला गैरन्यायिक भएको र सयौँ सर्वसाधारणको सम्पत्ति र आवासको हक खोसिएको भन्दै विरोध गरेका छन्।
उनीहरूले ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइदैन’, जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर,’ लगायतका नाराहरू लेखिएका प्ले कार्डहरू बोकेका थिए।
सर्वोच्च अदालतले २०८० पुस ३ गने खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउनुपर्ने फैसला सुनाएको थियो।