काठमाडौं। सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी कानुन बनाउन आवश्यक रहेको बताएका छन्। राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा सांसद रोकायले यस्तो बताएका हुन्।
उनले सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने तर यसको लागि आवश्यक स्रोतको व्यवस्थापन नगर्दा समस्या देखिएको बताए। राष्ट्रिय गौरवका आयोजनामा देखिएको यस्तो समस्या समाधान गर्नका लागि नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ।
बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न ढिलाइ हुँदा लागत बढेको समेत बताए। बैठकमा महाकाली सिँचाइ, रानी जमरा कुलरिया सिँचाइ, भेरी बबई डाइभर्सन र सिक्टा सिँचाइलगायत अन्य राष्ट्रिय गौरवका आयोजनामा पछिल्लो समयमा देखिएका समस्या माथि छलफल भएको थियो।