काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो सरकार बनेपछि सुशासन र विकासका ढोका खुलेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशमा सुशासन र विकासका ढोकाहरु खोलिएको दाबी गरेका हुन्।
उनले निर्माण सम्पन्न परियोजनाहरुको उद्घाटन, गुणस्तरीय सडकहरुको सञ्चालन र सेवाप्रवाहमा चुस्तताले थोरै मात्रामा भएपनि राहत प्रदान गर्ने कोसिस भएको समेत बताए।
कोशी सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रभातफेरिमा १५ वटा जातजातिका झाँकीसहित निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, बैँक तथा वित्तीय संस्थाका कर्मचारी,सदस्य, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलगायत सहभागी थिए ।