काठमाडौं। दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट घटस्थापनाको एक साताअघि खुल्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक सवारी साधनको अग्रिम टिकट घटस्थापनाभन्दा एक साता अघि खुल्ने जनाएको हो।
अग्रिम टिकट बुकिङ खुलाउनुअघि सडक सुरक्षा लगायतका विषयमा महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृहमन्त्रालयबीच छलफल समेत भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालयमा शुक्रबार नागढुंगा–मुग्लिन सडकका विषयमा निर्माण व्यवसायी र तीनै तहका सरकारबीच छलफल समेत भएको थियो। शुक्रबारको उक्त छलफलबाट घटस्थापनाअघि उक्त सडकको सम्पूर्ण मर्मत कार्य सम्पन्न गर्ने सहमति समेत भएको छ।
काठमाडौं उपत्यकाबाट बाहिरिने अधिकांश सडक मर्मत कार्य भइरहेकाले तत्कालै अग्रिम टिकट खुलाइहाल्ने अवस्था नरहेको महासंघले जनाएको छ।