सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्रको बिहीबार पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
बिहीबार देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो समेत हस्तान्तरण गरेका छन्। गाउँपालिकाका किसानलाई आयआर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोगप्रति गाउँपालिका अध्यक्ष लामाले आभार व्यक्त गरे । गाउँपालिकाको कृषि नीतिअन्तर्गत किसानसँग जोडिने, उपलब्ध जग्गाको उच्चतम प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आयआर्जनसँग जोड्न केन्द्र सहयोगी हुने विश्वास उनको छ ।