काठमाडौं। बाढीपहिरो प्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ। शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढी र पहिरोबाट प्रभावितका लागि एनआरएनएको आइतबार बसेको बैठकले एक करोड सहयोग गर्ने निर्णय गरेको हो।
बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग प्रमुख डा. हेमराज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ ।
समितिमा संघ पदाधिकारीहरू, क्षेत्रीय संयोजकहरू तथा राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरू समेत संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा। बद्री केसीले राष्ट्रिय समन्वय परिषदहरूको सहकार्यमा आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे ।
बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ ।