काठमाडौं। असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी पहिरोबाट पूर्वाधार क्षेत्रमा ११ अर्बको क्षति पुगेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी र पहिरोबाट खानेपानी, सडक, ऊर्जा र सिँचाइ लगायतका पूर्वाधार क्षेत्रमा ११ अर्बको क्षति पुगेको जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरण अनुसार बाढीपहिराले ६ सय ६७ मेगावाट बिजुली उत्पादन गर्ने १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निर्माणाधीन १ हजार १ सय ३९ मेगावाटका १८ जलविद्युत् आयोजना तथा ५ वटा प्रमुख प्रसारण टावरमा क्षति पुगेको छ ।
सडक संरचनामा २ अर्ब ५२ करोड, खानेपानीको संरचनामा ३ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाइ क्षेत्रमा १ अर्बको क्षति भएको छ । देशैभर ३७ राजमार्ग अवरूद्ध भएका थिए। अझै पनि कतिपय राजमार्ग सञ्चालनमा आउन सकेका छैनन्। कृषिबाली तथा पशुपन्छीतर्फ ६ अर्ब क्षति भएको छ ।
बाढीपहिरोमा परेर २ सय २४ जनाले ज्यान गुमाएका छन् भने २४ जना अझै बेपत्ता छन् ।