काठमाडौं। दशैंका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट काट्न रोकिएको छ। मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले अहिलेलाई टिकट काटिसकेकालाई गन्तव्यमा पुर्याउने र नयाँ टिकट भने बाटोको सुनिश्चितता हेरेर मात्र काट्ने निर्णय गरेको हो।
गृह मन्त्रालयको विपद् सम्बन्धी सूचना समेत आधार मानेर बाटोको सुनिश्चितता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीलाई बैठकले अनुरोध गरेको छ।
बैठकले अहिले काठमाडौंबाट छुट्ने गाडीलाई पनि उज्यालोमै नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न समेत व्यवसायीलाई आग्रह गरेको छ। सुरक्षा निकायले सोही अनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय समेत भएको छ ।
मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथमिक उपचार सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेरमात्र सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गरिएको छ ।