काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र निर्माण व्यवसायीबीच छलफल भएको छ। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले बुधबार छलफल गरेका हुन्।
छलफलमा निर्माण व्यवसायीका समस्या र भुक्तानीका विषयमा कुरा भएपनि दशैंअघि भुक्तानी दिने बारेमा अर्थमन्त्रीले स्पष्ट कुरा नगरेको महासंघले जनाएको छ।
छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘सरकारले नै भुक्तानी नगरेको कारण निर्माण व्यवसायमा परेको प्रभावका विषयमा हामी जानकार छौं, दशैंअघि नै सम्पूर्ण बक्यौता क्लियर गर्न हामी प्रयासरत छौं।’
छलफलमा महासंघले विगतको सबै भुक्तानी र चालु वर्षमा भएको कामको भुक्तानी सुनिश्चितता नभएसम्म थप ठेक्का नखोल्न सुझाव दिएको छ।
अर्थमन्त्री पौडेलले व्यवसायीको कुरा ठिक भएको बताउँदै चालु वर्षको हकमा त्यस्तो समस्या नपर्ने प्रतिक्रिया दिएका थिए।