काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा आएको बाढी पहिरो लगायतको विपद अव्यवस्थित बस्ती र पूर्वाधारको कारण भएको बताएका छन्।
माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित बस्ती र पूर्वाधारकै कारण देखिएको बताएका हुन्।
उनले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र बस्ती विकास र पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन्।
अध्यक्ष प्रचण्डले वैज्ञानिक बस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने बताएका छन्।